संविधान बनाउने कार्यमा देशका सबै क्षेत्र जाति, लिङ्ग र समुदायका नागरिकहरूको सहभागिता होस् भन्ने हेतुले संविधान सभा मार्फत संविधानको निर्माण गर्ने विश्वव्यापी प्रचलन रहेको छ । हाम्रो मुलुक पनि अहिले संविधान सभाको प्रक्रियामा प्रवेश गरीसकेको छ । यो प्रक्रिया संविधान सभाको निर्वाचन सम्पन्न भइ निर्वाचित हुने संविधान सभाले नेपालको नयाँ संविधान निर्माण गरी जारी नगरुञ्जेल जारी रहनेछ । हामी पनि स्वभाविक रुपमा यसै प्रक्रियामा प्रवेश गरी सकेका छौं । तसर्थ संविधान सभा, यसको महत्व, विधि र प्रक्रिया बारे प्रत्येक नागरिक प्रष्ट र सचेत हुनु जरुरी छ ।
संविधान भनेको के हो ?
संविधान देशको मूल कानुनी दस्तावेज हो । देशको राजनीतिक शासन प्रणाली कस्तो हुने, देशले कस्तो अर्थ व्यवस्था अपनाउने, जाति, भाषा, धर्म सम्बन्धि राज्यको नीति कस्तो हुने जस्ता आधारभूत र महत्वपूर्ण पक्षहरू यो दस्तावेजमा उल्लेख गरिएको हुन्छ । संविधानकै परिधि भित्र रहेर अरु ऐन, कानून नियमहरू बन्ने र पहिले नै चल्तीमा रहेको ऐन, कानून पनि नयाँ बन्ने संविधान सँग मेल खाएन वा बाझियो भने स्वतः खारेज हुन्छन् । संविधान राज्य संचालनको मुख्य कानुनी आधार हो ।
संविधानसभा भनेको के हो ?
नयाँ संविधान बनाउने कामका लागि गठन गरिने सभा नै संविधान सभा हो । यस सभामा जनताले आफुले रुचाएका, आफ्ना कुराहरू संविधानमा राखिदिने दल वा व्यक्तिहरूलाई आफ्नो प्रतिनिधिको रुपमा भोट दिई चुनेर पठाएका हुन्छन् । संविधान सभा नयाँ संविधान जारी भए पछि विघटन हुन्छ ।
संविधान सभाको निर्वाचन कसरी हुन्छ ?
नेपालको अन्तरिम संविधान २०६३ ले नेपालमा अब बन्ने संविधान सभामा ४२५ सदस्य हुने व्यवस्था गरेको छ । जम्मा ४२५ सदस्यहरु मध्ये २०५ जना निर्वाचन क्षेत्रहरु बाट र २०४ जना समानुपातिक पद्धति अनुसार राजनैतिक दलहरुले निर्वाचनमा पाएका मत संख्याको आधारमा सम्बन्धित दलहरुले पठाउने छन् । बाँकी १६ जना प्रधानमन्त्रीद्वारा मनोनयन गरिनेछ । साथै २०६३/११/२५ गते अन्तरिम विधायिकाले अन्तरिम संविधान संशोधन गरी जनसंख्या वृद्धि भएको जिल्लाहरुमा सदस्य संख्या थप्ने र संघिय शासन प्रणालीमा जाने प्रावधान राखिएको हुँदा सदस्य संख्या बढ्न सक्नेछ । (थपिएको सदस्य संख्या उल्लेख छैन।)
संविधान सभाको महत्व के हो ?
प्रत्येक नागरिकले आफ्नो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गर्ने विषयहरू आफूले चाहे जस्तै किसिमले संविधानमा व्यवस्था होस् भन्नाका लागि संविधान सभाको निर्वाचन एउटा राम्रो र महत्वपूर्ण अवसर हो । संविधान सभाको निर्वाचनले राज्यको मूल नीति निर्माण गर्न सबै नागरिकले सहभागी हुन पाउने अवसर प्रदान गर्दछ । नेपालको इतिहासमा नागरिकले कहिल्यै यस्तो महत्वपूर्ण अवसर प्राप्त गरेका थिएनन् । हामीले प्राप्त गरेको यस महत्वपूर्ण अवसरलाई हामी सबैको हित हुने संविधान र समृद्ध नेपाल निर्माण गर्ने कार्यमा सदुपयोग गर्नु आवश्यक छ । यसका लागि आउदो संविधान सभाको निर्वाचनमा कसैको डर, लोभ, त्रासमा नपरी मतदानमा सहभागी हुन र आफ्ना कुराहरु बोलीदिने राजनैतिक दल वा व्यक्तिलाई चुनेर पठाउन सम्पूर्ण वालिग नेपालीहरूमा हादिक अनुरोध गरिन्छ ।
साभार, गोजीपात्रो २०६४
किरात राई यायोक्खा
वर्ष १, अङ्क १, २०६४ असार।