पृष्ठभूमि
किरात पुमा राईहरूको आदिम तथा मुख्य थलो खोटाङ्ग जिल्लाको दक्षिणी भेग, सावा खोला दक्षिण, सुनकोशी पूर्व तथा उत्तर र बुवाखोला पश्चिम पर्ने दिप्लुङ्ग, मौवाबोटे, देविस्थान, पौवासेरा, चिसापानी र साउनेचौरलाई मानिन्छ । भौगोलिक रुपले विकट, भाषिक, सांस्कृतिक र बसोबासको रुपले दुई ठूला राई भाषी समूदायहरू चाम्लिङ्ग र बान्तावाको बीचमा किरात पुमा राईहरूले अन्य राईहरूको भन्दा केहि भिन्न ढंगले भाषा तथा संस्कृतिहरू संरक्षण र परिपालन गर्दै आएका देखिन्छन् । भाषिक, सांस्कृतिक रुपले उच्च देखिने पुमा राईहरूको बर्षभरि गरिने संस्कृतिहरू, जन्मदेखि मृत्युसम्म गरिने संस्कारहरू तथा अन्य संस्कार र संस्कृतिहरु अधिकांशबाट पुमा राईहरू प्रकृतिका पुजक भूमिपुत्र हुन् भन्ने प्रमाण पाईन्छ । यस लेखमा प्रकृति पूजा फागुको बारेमा छोटो चर्चा गरिन्छ ।

ऐतिहासिकता
फागु र फागु नाचको ऐतिहासिकता खोज्ने हो भने यसलाई अन्य किरात राईहरूले मान्ने साकेन्वा वा साकेला पूजा र बुढाहोङ्को पृष्ठभूमिलाई धेरैले व्याख्या गरेको पाइन्छ । फागुको उत्पत्तिको बारेमा मिथक पनि भन्ने गरेको पाईन्छ । साकेला नाच र फागु नाचमा गाईने गीत तथा सिलीको सारमा समरुपता पाईन्छ । पुमा राईहरू फागु पुजेपछि साकेला पुज्दैनन् । तर फागु र साकेलाको पूजा गर्ने विधि र समयमा केहि फरक देखिन्छ । जस्तै, फागु बैशाख शुरु भएपछि बर्षको एक पटक मात्र औंशी पूर्णिमाको ख्याल नगरी पूजा प्रत्येक सुप्तुलुङ्ग(चुल्हा) भएको घरमा कुनै मारकाट नगरी गरिन्छ भने साकेला बैशाख पूर्णिमा र मंसिर पूर्णिमामा बर्षको दुई पटक गाउँको सामूहिक थान(मन्दिर)मा कुखुरा आदिलाई मारेर पुजिन्छ । यिनिहरूबीचको फरकमा तात्विक तथा ऐतिहासिक खोज हुन अझै बाँकी नै छ ।
फागु
बैशाख महीना शुरु भएपछि अर्थात बर्षायाम लागेपछि जब गर्मी बढ्दै जान्छ । ‘चराचुरुङ्गी, माछा, जीवजन्तु आदिले भाका फेर्दै उभो लाग्न थाले, वनपाखामा रुखविरुवाको नयाँ मुजुरा पलाउन थाल्यो । सुकेका खोल्सा नदीहरू चिपचिपाउन थाले, बालीनाली लगाउने, गोड्ने बेला भयो । बालीनाली सप्रियोस्, घामपानी, आँधीहुरीबाट जोगियोस् । वनपाखामा साना ठूला फूलहरू फुल्न थाले, नयाँ आयाम थपियो । चराचुरुङ्गी, बादर, मृग, माछा, बाघ, भालु, मान्छे सबैको सिर उभियोस् ।’ भन्ने भावार्थमा ङापोङ(पुजारी)ले फागु पूजा गर्छ । फागु पुमा राईहरूले बर्षको उभौली पक्षको शुरुमा गरिने चाँड तथा संस्कार भएकोले यो गरेपछि अन्य संस्कारहरू पनि गर्नको लागि फुकुवा हुन्छ । यो पूजा गर्दाखेरी ङापोङ(पुजारी)ले हातमा तालित बसी(धनुबाँण), टाउकोमा फेटा बाँधेर फलाक्छ । फागु पुज्दा पनि पाछागत भिन्नताहरू पाईन्छन्। जस्तै, दबलुङ्गहरू कसैकसैले चिण्डो प्रयोग नगरेर पितृ तथा मातृ नाम पनि बोलाउँदैनन् । तर पालुन सबै सहित कुनैकुनै दबलुङ्गहरूले एउटा चिण्डो प्रयोग गरि पितृ तथा मातृ नामहरू बोलाउँछन् । फागु पुजालाई क्रमैसँग पनि व्याख्या गर्न सकिन्छ ।
१. तयारी
फागु पुज्न ङापोङ्को टुङ्गो लगाउँदा अरु पितृ कार्यमा जस्तै पालुन र दबलुङ्ग बोबीका मूल पाछाभित्रको ङापोङ्ले मात्र गर्न, गराउँन मिल्छ । तर हेन्योङ्छा पाछाको भने जुन पाछाको ङापोङ्ले भए पनि गर्न, गराउन मिल्छ । ङापोङ्को टुङ्गो लागेपछि पूजाको अघिल्लो बेलुकी चोखोनितो गरेर अघिल्लो सालको नावाङ्गीमा पकाएको रक्खे खाचा(चोखो पितृ जाँड) फ्याकेर नङ्वा(नयाँ) रक्खे खाचा दाब्बेहोङ्पा वा दाब्बेहोङ्मा(चुला पुज्ने प्रमुख)ले पकाउनु पर्दछ । यो रक्खे खाचा आगामी नुवागीसम्मको लागि पितृ कार्यहरूमा प्रयोग गरिन्छ । फागु गरिने बिहानै घर लिपपोत गरेपछि दाक्बेहोङ्पाले ल्याएको छोङ्बाला/नेवालाबुङ् (भोर्लाको पात, जसले फागुमा बिशेष महत्व राख्दछ ।), सोलोन्वा(चिण्डोमा भरेको चोखो जाँडपानी) वा लापलापवा(बटुकामा भरेको चोखो जाँडपानी र ), फालामरोङ्(चोखो भात), माबुसा(सिद्रा), एक कुनामा भूमिमा खेति गर्दा चाहिने सबै औजारहरू भोर्लाको पातमाथि राखिन्छन् । ङापोङ् आएपछि हातमा धनुबाँण लिएर फागु शुरु गर्छ। फागु घरभित्र चुल्हाको नजिकै गरिन्छ ।
२. शुरू
यदि त्यस घरमा ठोला(ढोल) मानि(झ्याम्टा) पनि छन् भने ङापोङ्ले शुरू गरेसँगसँगै तिनीहरू पनि बजाउन थालिन्छ । ङापोङ्ले सुप्तुलुङ्(तीनवटा चुल्हा)बाट फागु “सोए खाईतालुङ्, बोबीलुङ्, रङालुङचो दोङ्वाङा, लावाङा, वासालानाम लिसा । बेछुन्ए रामुरङ्याङ्, छुलुनए रामुरङ्याङ्, …….” भन्दै लापलापवा पानीले पर्साउदै शुरू गर्छ ।
३. बोटबिरुवा तथा जीवजन्तुको नाम
फागु विधिवत रुपमा शुरू भएपछि ङापोङ्ले “हेन्खामा तुवालिमा, थक्दुमा तुवालिमा, दिलुङ्मा ओङ्बेता, थुप्सङ्मा ओङबेता, लालिवासा पाखाया ला मुयाङ्, ……. माबुमा सुवाफोङा, …” भन्दै प्रकृतिमा फेरिएका सम्पूर्ण परिवर्तनहरूको बारेमा व्याख्या गर्छ ।
४. शिर उभ्याउनी
फागु गर्दा बेलाबेलामा ङापोङ्ले “चाप्चा साया, बान्पा साया रुरेम्याङ्सो, आगलाक्पा साया, दिगारा साया, होङ्छामी साया रुरेम्याङ्सो,…….., साया मेन्धा…….” भन्दै बाघ, भालु, बाँदर, हरिण, मान्छे आदिको शिर उभ्याउने प्रार्थना गर्दछ ।
५. कृषि औजार
त्यसपछि कृषि औजारहरूको पनि “सोए ! खन्नानिन् दावाबेन, धुप्माबेन केन्बो साया साया मेन्धा हेन्खामा तलिप्सुम । केन्होङ्पाचीलाई खेन्, भारा पाक्मा पेए ……” भन्दै शिर उभ्याउँदै रक्खे खाचावाले पर्साईन्छ ।
६. ढोल झ्याम्टा
यदि त्यस घरमा ढोल झ्याम्टा राखिएका छन् भने “सोए, खन्नाची ठोला मानि रहुङ्सोला, सातासोला केन्ची सोर रङ्सम्म र रमुरङाची, सत्तुरा बिहेका आक्डाची । रमा कोपाची, छमा कोपाची, …..”भन्दै तिनीहरूको पनि शिर उभ्याइन्छ ।
७. पितृ नाम
दबलुङ्हरूले फागुमा पितृ÷मातृ नाम नबोलाउने (तर कसै कसैले भने बोलाएको पाईएको) र पालुनले भने बोलाउने गरेको पाईन्छ । यसमा बोलाउनेहरूले “सोए ! दिप्पाचो पाचो दोङ्वाङा, लावाङा, वासालानाम लिसा…नङ्निमा मुआनिन्, लोक्तामा मुआनिन् ….” भन्दै सबै पितृ÷मातृ नाम बोलाईन्छ ।
८. ढोकाको शिर
घरभित्र सकिदै गएपछि ढोका छेउमा गएर ङापोङ्ले “लोहोए ! खन्नानिन् द्वारिका फक्लेका छुमासङ्, ओङ्मासङ् सत्तुरा बिहेका आक्डानिन् । रमा कोप्निन् छमा कोप्निन् ।……” भन्दै तिनीहरूको पनि शिर उभ्याउँछ ।
९. आँगनमा सकिने
अन्तिममा ङापोङ् आँगनमा निस्कन्छ । ढोल झ्याम्टा भएको घरमा तिनिहरूलाई बजाउँदै निकालिन्छ । ङापोङ्ले बर्षभरि को लागि खाना पानी खाईजाउँ, अबत फलफूल वनजंगलमा फल्न थाल्यो । अनिकाल कसैलाई नलागोस्, रोग, महामारी नफैलियोस्, चट्याङ्ग बाढी पहिरो प्राकृतिक प्रकोप नहोस् भन्दै चराचुरुङ्गी, जीवजन्तु, पितृ÷मातृ(पुज्ने भए)हरूलाई फालामरोङ् र रक्खेखाचावा दिन्छ । अनि फागु लाक खेल्दै पुजा सकिन्छ । फागु पुजा भईसकेपछि धुमधामसँगले गाउँघरमा फागु नाचिन्छ । यसैदिनदेखि नयाँ दाउरा बाल्न पनि हुन्छ । फागु गरेपछि कुनै प्रकारको पूजाआजा गर्नलाई बाँधा हुँदैन।
वर्ष १, अङ्क १, २०६४ असार।