– अर्जुन राई/नारायण प्रसाद गौतम
यो पाँच वर्षे (२००४–२००८) परियोजनाको मुख्य उद्देश्य पूर्वी नेपालमा लोप हुन लागेका छिन्ताङ र पुमा भाषिक तथा विविध सांस्कृतिक पक्षहरूको अभिलेखीकरण गर्नु हो । यी भाषाहरूको अहिले सम्म अभिलेखीकरण गरिएको छैन । यी भाषाहरू भोट वर्मेली अन्तर्गत किराती परिवारमा पर्दछन् । किराती समूहहरूको अझै पनि विशेष ऐतिहासिक परम्परा विद्यमान रहेको पाइन्छ । तर छिन्ताङ र पुमामा अहिलेसम्म पनि अभिलेखीकरण गरिएको पाइदैन ।

नेपाल भाषिक दृष्टिले विविधता भएको देश हो । केन्द्रीय तथ्याङ्क विभाग (२००१) अनुसार नेपालमा ९८ विभिन्न भाषाहरू बोलिन्छन् । तर व्यावहारिक रुपमा १०० भन्दा बढी भाषाहरू बोलिने गरिएको दावी गरिन्छ । नेपालमा बढी बोलिने भाषाहरू मध्ये भोट वर्मेली अन्तर्गत पर्ने भाषाहरू हुन । किराती समूह भित्र २० देखि ३० विभिन्न भाषाहरू तथा यिनका धेरै भाषिकाहरू छन् । किराती भाषाको बढी भाग ओगट्ने ठूलो जातीय समूह छिन्ताङ र पुमा नेपालमा ‘राई’ समूह भित्र पर्दछन् । छिन्ताङ धनकुटा जिल्लाको छिन्ताङ गा.वि.स.मा बोलिन्छ भने पुमा भाषा राप्चा श्रृंखला अन्तर्गत खोटाङ बजारको दक्षिणी भेकमा अवस्थित सावा खोला उपत्यकामा बोलिन्छ ।
किरातीमा धेरै बोलिने ‘बान्तावा’ ले यी भाषाहरूलाई प्रतिस्थापित गरिएको हुनाले यी दुवै भाषाहरू लोप हुनसक्ने अवस्थामा छन् । विभिन्न कारणहरूले गर्दा उनीहरूले आफ्नो मातृभाषा बोल्न छोडी नेपाली भाषा बोल्न शुरु गरेका छन् । संभवत यी भाषाहरू एक वा दुई भन्दा पछिका पुस्ताहरूले नबोल्ने देखिन्छ ।
नेपाल अधिराज्यको संविधान २०४७ मा प्रत्येक समुदायले बालबालीकालाई प्राथमिक तहसम्म आफ्नो मातृभाषामा शिक्षा दिने गरी विद्यालय संचालन गर्न पाउने अधिकार प्रदान गरिएको छ । जस अनुसार केही आदिभाषाहरू मध्ये तामाङ्ग, लिम्बु र बान्तवामा गुरुङ्ग, चामलिङ्ग प्राथमिक शिक्षा प्रदान गर्न शुरू गरि एकोछ भने अन्य क्षेत्रमा केही भाषाहरू जस्तैः थकाली, साम्पाङमा ऐच्छिक विषयको रुपमा छिट्टै शुरु गरिदैछ । यी भाषाहरूको बैज्ञानिक रुपले अभिलेखीकरण भएकोले नै यसो गर्न संभब भएको हो । यी भाषाहरूको विभिन्न Speech Genre सहितको उचित अभिलेखीकरणले भाषालाई संरक्षण गर्न मात्र सहयोग पुर्याउँने नभई भविष्यमा शैक्षिक सामाग्रीहरू तयार पार्न पनि हो ।
परियोजनाको तात्विक उद्देश्य’Ethnography of speaking’ को तरिका अनुशरण गर्ने सन्दर्भमा भाषा अभ्यासहरूको रेकर्ड गर्नु र बढी भाषीक तथा जातीय सन्दर्भहरूका साथ रुपान्तर प्रदान गर्नु हो । छिन्ताङमा भने २ वर्षसम्म language acquisition को बारेमा विस्तृत अध्ययन गरियो । यसले हामीलाई भाषा लोप हुने अवस्थाको शुक्ष्म विधीलाई बुझन मद्दत गर्नेछ । साथै द्वैभाषिक र त्रिभाषिक भूमिकाले एवं सामाजिक तथा मनोवैज्ञानिक संयन्त्रले भाषालाई कसरी मृत अवस्थामा पुर्याउँछ भन्ने जानकारी दिन्छ ।
वहुआयामीक उद्देश्यको निम्ति परियोजना टोलीमा भाषाविदको रुपमा प्रा.डा.वाल्थाजार विकेल, प्रा.डा.नोभेल किशोर राई, डा. विष्णु सिंह राई, मानवशास्त्रीको रुपमा डा.मार्टिन ग्यान्सले तथा मनोभाषाविदको रुपमा प्रा.डा.एलिना लिभेन तथा डा.सविना स्टलको संलग्नता रहेको छ । टोलीमा जर्मन तथा नेपाली विशेषज्ञहरू रहनु भएको छ । दुईजना नेपाली अनुसन्धानकर्ता (प्रा.डा.नोभेल किशोर राई र डा. विष्णु सिंह राई)हरू राई समुहको छिन्ताङ र पुमासँग सम्बन्धित हुनुहुन्छ । वहाँहरू दुवैजनाले विगतका किराती भाषा बारे निकै गहिरो अध्ययन अनुसन्धान गर्नु भएको छ । दुवैजना जर्मन विशेषज्ञहरू, (प्रा.डा.वाल्थाजार विकेल, र डा.मार्टिन ग्यान्सले) मध्ये भाषाविदको रुपमा विकेलको र मानवशास्त्रीको रुपमा ग्यान्सलेको किराती भाषाको लामो अध्ययन अनुसन्धानको अनुभब रहेको छ । यसरी नै दुईजना मनोभाषाविद (प्रा.डा.एलिना लिभेन र डा.सविना स्टल) सँग विश्वका अन्य भागहरूमा गरेको कार्य क्षेत्रको अनुभवका साथै भाषा सिकाई अनुसन्धानमा गहिरो अनुभव रहेको छ ।
परियोजनाको आर्थिक भार लोप हुन लागेका भाषाहरूको अभिलेखीकरण सम्बन्धी विशेष कार्यक्रम भोल्कस्वागन फाउण्डेशन (Volkswagen Foundation) ले लिएको छ भने प्रशासकिय कार्य जर्मनीको लाइप्चीख विश्वविद्यालयको भाषाविज्ञान विभाग र त्रिभुवन विश्वविद्यालयका भाषाविज्ञान केन्द्रीय विभाग बीचको सहकार्यमा हुनेछ । यो परियोजना २००२ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत भाषा विज्ञान केन्द्रीय विभागले नेपालको लोप हुनु लागेका भाषाहरूको अभिलेखीकरण गर्न शुरु गरेको नेपालको भाषीक सर्वेक्षण (LINSUN) को एक भाग पनि हो । यो परियोजनालाई अन्तराष्ट्रिय परामर्शी मण्डलले सहयोग पु¥याएको छ । साथै कार्यक्षेत्र तालीमको सौजन्य गर्न स्थानिय अभिलेख विकास गर्न तथा अनुसन्धान प्रयासलाई संयोजन गर्ने उद्देश्य पनि यसले राख्दछ । यी उद्देश्यहरु विस्तृत रुपमा प्राप्त गर्नको निम्ति संचालन भएको छिन्ताङ र पुमा अभिलेखीकरण परियोजना नै पहिलो परियोजना
हो ।
वर्ष १, अङ्क १, २०६४ असार।