– खडग बहादुर राई
खोटाङ्ग जिल्लाको दक्षिणी भेग सावाखोला र दुधकोशीको आसपासको क्षेत्रमा पुर्खाौली बसोबास रहिआएको मान्ने किरात राईहरूमध्ये एक पुमा राईहरूको बाहुल्यता खोटाङ्ग जिल्लाको दिप्लुङ्ग, मौवाबोटे, देबिस्थान गा.वि.स. मा छ भने चिसापानी, सुन्तले, फाक्ताङ्ग, पौवासेरा, काहुले, बोपुङ्ग, र उदयपुर जिल्लाको
सिद्धिपुर, चौदण्डी, बबला, मैनामैनी, गा.वि.स.मा न्युनता रहेको पाइन्छ । हाल उदयपुर जिल्लाकै बेल्टार, बसाहा, रामपुर, तथा तराईका जिल्लाहरू सप्तरी, सुनसरी, मोरङ्ग, झापा र उपत्याकामा बसाई सराई गर्ने पुमा राईहरूको संख्यामा वृद्धि भएको पाइन्छ ।
पुमा राईहरू आफुलाई रकोङ, रोकोङ, रोखुङ्ग तथा रोकुङ भन्न रुचाउछन् । उनीहरूले बोल्ने भाषालाई पुमा भाषा भनिन्छ भने आफ्नो भाषामा उनीहरू रकोङ्ला, रोकोङ्ला, वा रोकुङ्ला भन्दछन् । स्थानीय ठाँउहरूको कतिपय नामहरू यसै भाषाबाट राखिएको पाइन्छन् । जस्तैः दिप्लुङ्ग, ओक्वारीतोङ्ग (मौवाबोटे), चाभालोक्खा, बाखोपतान, तामदुङ्ग, बंशिला, बुतवा(बुयटार), राङ्गभाङ्गे, तिरीतोङ्ग, रोङ्गरुम(निगालबास) आदि । २०५८ सालको राष्ट्रिय जनगणना अनुसार पुमा भाषी राईहरू करीब १२ हजारको हाराहारीमा छन् भने पुमा भाषा बोल्ने राईहरूको संख्या ४३१० मात्र रहेको छ । भाषा बोले पनि नबोले पनि पुमा राईहरू आफ्नो कुल पुजा तथा परम्परागत चुला पुज्दा वा अन्य संस्कार गर्दा पुमा भाषा(पुमा मुन्दुम जान्ने) ङापोङ, धामीले नै पज्नु पर्दछ।
पुमा भाषी राईहरूको सामेत छोरा मान्छे भए नाम्धुङपा छोरी मान्छे भए नाम्धुङमा हो। सामेत कुलपितृ गर्दा, बिरामीको धामीले सातो लिदा, विवाहकार्यमा आवश्यक मानिन्छ । पुमा राईहरू मुख्यतः दुई बोबीमा बाँडिएकाछन्। बोबी भन्नाले पाछा बाँडिनु भन्दा पहिले छुटिएको क्षेत्रगत पाछा नै हो। यी दुई बोबीभित्र
चौध पाछा छन् । चौध पाछाभित्र पनि कुनै कुनै पाछाको विभिन्न उप–पाछाहरू छन् । एउटै पाछा वा उप–पाछाभित्र पुमा राईहरू विहेवारी गर्दै नन् । पुमा राईहरूको बोबी, पाछा, उपपाछा र तिनीहरूको परापूर्वकालदेखिको बाहुल्यता क्षेत्र निम्न अनुसार छः
अ) दबलुङ्ग(दिप्लुङ्ग) बोबी
१) हादिरा पाछा
क. लुथुम राजा उप–पाछा
ख. तोङ्यासुन उप–पाछा (दिप्लुङ-७, निगालबास)
ग. भुपुलुक्पा उप–पाछा (देविस्थान-३, बुकुला)
घ. मात्तिममुरा उप–पाछा (मौवाबोटे १, ताम्बुवा)
ङ. मुरातुम/मुरातेन उप–पाछा
२) गाराजा पाछा
क. चोङ्पालुङ्÷चङपालुङ् उप–पाछा (चिसापानी ३, घोर्ले )
ख. ङेन्पालुङ उप–पाछा
ग. नान्पालुङ् उप–पाछा
३) योङदुहाङ पाछा
क. छिरीहाङ्ग उप–पाछा (दिप्लुङ-९ निगालबास र मौवाबोटे-४ इमिखिम)
ख. खोदीहाङ्ग उप–पाछा (पौवासेरा, सुसेडाँडा
४) हाङथाङगा पाछा
क. एउटा मात्र पाइएको (मौवाबोटे-२, ३, वालाम्बुङ)
५) थुम्राहाङ्ग पाछा
क. नान्पालुङ् (मौवाबोटे ७, दिप्लुङ्ग ४, चिसापानी ७, ८)
ख. खुनपालुङ् (मौवाबोटे ६, दिप्लुङ्ग, चिसापानी ७)
ग. बारा …..
६) दुमाङलुङ्दु/मामलुङ्
क. हालसम्म एउटा मात्र पाइएको (दिप्लुङ्ग ७, ८ निगालबास)
७) लिम्माछित
क. हालसम्म एउटा मात्र पाइएको (दिप्लुङ्ग ७, ८, मौवाबोटे ४, साउनेचौर, सिन्ताङ्ग, उदयपुर जिल्लाको सिद्धिपुर ३, ४)
८) हेन्योङ्छा
क. हालसम्म एउटा मात्र पाइएको (पौवासेरा ७, ८, ९ का बंशिला, सोराखानी, तामदुङ, दोखेवा)(यस पाछालाई दबलुङ् बोबीको सात पाछाभित्र कुलपित्रमा
राखिदैन । उनीहरू आफूलाई साक्सालुङ्ग, तङालुङ्ग बोबी पनि भनेर चिनाउछन् ।)
आ) पालुन (रुथुम) बोबी
१. तोङमालुङ (दिप्लुङ्गको ३, ६, ७, देविस्थानको १, २, ३)
२. मिथाहाेङ (देविस्थानको ४, ५, उदयपुर सिद्धिपुर ४)
३. वाबिहाेङ (खोटाङ्ग, उदयपुरमा नभेटिएको निसन्तान भएको वाबिहाङ्ग सिकारी अट्टले, साईकर्णाको पुजा देविस्थान क्षेत्रमा गरिन्छ ।)
४. खाहोङ (पौवासेराको बुयटार खारातानमा १ घरमाात्र सिक्किमतिर गएका)
५. मेत्लङ्थोङ
६. खिरिहोङ/रङातान
वर्ष १, अङ्क १, २०६४ असार।